कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन्।

सोमबार राति सकिएको मतगणनाको परिणाम अनुसार देउवाले १८ सय २२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेलले १२ सय ९६ मत ल्याए।

उक्त मतपरिणाम निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले केहीबेर अघि सार्वजनिक गरेका हुन्।

परिणाम

दोस्रो चरणको मतदानमा देउवाले पौडेललाई ५ सय २६ मतले हराएका छन्।

यसअघि आइतबार, देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाबीच भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि आवश्यक बहुमत पुर्याउन नसकेपछि सोमबार फेरी निर्वाचन भएको थियो।

उक्त निर्वाचनमा सिटौला तेस्रो स्थानमा आएपछि देउवा र पौडेलबीच सोमबार पुन निर्वाचन भएको हो।

यसअघि दुईपटक सभापति पदमा पराजित भएका देउवा १३ औं महाधिवेशनमार्फत पार्टीको नेतृत्व तहमा पुगेका छन्।

देउवा निर्वाचित भएसँगै लामो समयदेखि कोइराला परिवारमा रहेको कांग्रेसको नेतृत्व त्यसबाट बाहिर आएको छ।

अब देउवा चार वर्षका लागि सभापति भएका छन्। जुन असाधारण परिस्थितिमा १ वर्ष लम्बिन सक्छ।

१३ औं महाधिवेशनका क्रममा सभापति पदको मतपरिणाम आए पनि महामन्त्री, कोषाध्यक्ष र केन्द्रिय सदस्यहरुको मतपरिणाम आउन बाकिँ नै छ।

उनीहरुको मतगणना मंगलबारबाटै सुरु हुने निर्वाचन अधिकृत घिमिरेले बताए।

उनले भने, "मतगणना पहिला महामन्त्री र कोषाध्यक्ष अनि केन्द्रिय सदस्यको हुनेछ। सबै मतगणना सकिन यो साताको अन्त्यसम्म लाग्नसक्छ।"

को हुन् देउवा?

२००३ सालमा डडेलधुरामा जन्मिएका शेरबहादुर देउवा विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन्।

उनी नेपाल विद्यार्थी संघको (दोश्रो) महाधिवेशनबाट अध्यक्ष बनेका थिए।

२०४६ सालमा प्रजातन्त्र आएपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा नेता देउवा लगातार विजयी हुदै आएका छन्।

४५ वर्षको उमेरमा गृहमन्त्री बनेपछि प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन उनलाई ५ वर्ष पनि कुर्नुपरेन।

५० वर्ष नपुग्दै २०५२ सालमा प्रधानमन्त्री बनेका देउवाले तीनपटक त्यो अवसर पाइसकेका छन्।

संसद विघटन प्रकरणलाई लिएर पार्टीमा उत्पन्न चर्को विवादका माझ नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेर सभापति बनेका देउवा यसअघि नेपाली कांग्रेसको सभापतिको चुनावमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग पराजित भएका थिए।